Saturday, January 3, 2015

रंगदृष्टि ( कलर भिजन, Color vision) र विवर्णता (color vision deficiency)
गौरीशंकर श्रेष्ठ
दृष्टि विशेषज्ञ, उपप्राध्यापक
बिनिता सापकोटा
बि पी कोइराला लायन्स नेत्र अध्धयन केन्द्र

सप्तरंगी इन्द्रेणी (Rainbow)को विभिन्न रंगहरु जस्तै, रातो (Red), सुन्तले (Orange), पहेलो (Yellow), हरियो (green), निलो (Blue), बैजनी (Indigo) र प्याजी (voilet) रङ्ग मानिसले पहिचान गर्न सक्छन/ तर यी सात रंगहरु बाहेक पनि माथि उल्लेखित विभिन्न रंगको मिश्रणबाट बन्ने हजारौ नया रंग भिन्नताहरु पनि सजिलै छुट्याउन सक्छन/ मानिसहरुको रङ्ग दृष्टि (Color Vision) अरु जिबहरुको भन्दा अतिनै बिशिस्त हुन्छ/ यहि रंग दृष्टिको कारण सानो भन्दा सानो फरक पनि मानिसले सजिलै देख्छन र छुट्याउन सक्छन/ त्यसैले मानिसको यहि बिशिस्त रंग दृष्टिको कारण भित्तामा पोतेको एउटा रङ्गसंग अर्को त्येस्तै रङ्ग पोत्दा थोरै फरक पनि थाहा पाउँछन्/ हजारौ  प्रकारका रंगहरु मुख्य त तिन प्राथमिक रङ्गहरुको विभिन्न मात्राको समिश्रणबाट तयार हुन्छ/ यी प्राथमिक रंगहरु भनेको रातो, हरियो, र निलो रङ्ग हो/ आँखामा पनि यी तीनवटा रङ्गको विभिन्न मिश्रण पत्तालगाउन र रङ्ग छुट्याउन सक्ने दृष्टिकण (Visual pigments)हरु हुन्छन/ ती कणहरुलाई विभिन्न रंगका प्रकाशको ज्योतिले पैदा गर्ने तरंगको मात्र अनुसार मस्तिस्कले रंगको पहिचान गर्दछ/       
विवर्णता (color vision deficiency)
तर केहि मानिसहरुले अरु सामान्य मानिसहरुले देख्न सक्ने रङ्ग भिन्नताहरु देख्न सक्दैनन्/ कसैको पूर्ण रङ्ग अन्धोपना (Color Blindness) हुन्छ भने कसैको सिमित रङ्ग नदेख्ने रंगदोष (विवर्णता, Color deficiency) हुन्छ/ रंग अब्धोपना अथवा रंगदोष भएको व्यक्तिले विभिन्न रंगहरुलाई सेतो र कालोको विभिन्न मात्राको समिश्रण (खैरो) जस्तै देख्छ/ रंगदोष भएका व्यक्तिहरुको रंग पहिचान गर्ने प्रक्रिया सानैदेखि सिकेको बस्तुको पहिचान गर्ने अनुभब र त्यो बस्तुहरुको प्राकृतिक आकारप्रकारसंग दाँजेर गर्छ/ जस्तै, पूर्ण रुपमा रङ्ग अन्धोपना भएको व्यक्तिलाई केराको रङ्ग कस्तो हुन्छ भनि सोध्यो बिना संकोच त्यसको रङ्ग बताइदिन्छन्/ लुगाको रङ्गहरु बताई दिन्छन्/ हामि यो कुराले आश्चर्यमा पर्छौ कि कसरि उसले सबै रङ्ग पहिचान गर्यो/ तर उसले रंगको पहिचान गर्न सेतो र कालोको विभिन्न मात्राको समिश्रणलाई विभिन्न खालको रंगको रुपमा नामकरण गर्न सिकेको हुन्छ/ तर बुझ्नु पर्ने कुरो के छ भने उनीहरुले रंगको मिश्रण छुट्याउने काम गर्न सक्दैनन्/केहि व्यक्तिहरु निलो, हरियो र खैरो रंगमा अल्मलिन्छन भने कोही पहेलो, खैरो, र हरियो छुट्याउन गाह्रो मान्छन/
यो समस्या प्राय जन्मजात हुन्छ/ तर, आँखाको पर्दाको रोग, नशा तथा मस्तिष्कको रोग, अथवा केहि औषधीहरु वा रसायनहरुको गलत सेवनले पनि यस्तो समस्या निम्त्याउन सक्छ/ रंगदोष सम्बन्धि समस्या प्राय महिलाहरुलाई भन्दा पुरुषहरुलाई १० गुणा ज्यादा हुन्छ/ रंगदृष्टि (Color Vision) केहि पेशाहरुको लागि निक्कैनै महत्वपुर्ण हुन्छ/ जस्तै, पाइलट, नाविक, सशत्र बलका अधिकारी, प्रहरी कर्मचारी, रंग रोगन गर्ने पेशाका कर्मचारी, रंग समिश्रण गर्ने कम्पनीका कर्मचारी, प्याथोलोजिस्ट, रगत सम्बन्धि काम गर्ने चिकित्सा पेशाकर्मी, नसा सम्बन्धि अपरेशन गर्ने डाक्टर, बिजुलीको काम गर्ने पेशाकर्मी, ड्राइभर, फेशन डिजाइनर, इन्टेरियर डिजाइनर, चित्रकार आदि/ स्कुल पढ्ने बिद्यार्थीहरुको रंग दृष्टि सम्बन्धि समस्याको बारेमा शिक्षकलाई जानकारी हुनु पर्छ/ कुनै बिद्यार्थीको शैक्षिक अवस्था कमजोर छ भने उसको शैक्षिक अवस्था र रंगको सम्बन्ध के छ शिक्षकलाई जानकारी हुनु जरुरि हुन्छ/ माथि उल्लेख गरिएका प्रतिबन्धहरु बाहेक रंगदोष भएका व्यक्तिहरु सामान्य जीवन बिताउन सक्षम हुन्छन्/





तपाइको दृष्टि विशेषज्ञ (optometrist) रंग छुट्याउन सक्ने क्षमताको मुल्यांकन गर्न योग्य हुन्छन्/ रंगदोष भएको अवस्थामा सही पेशागत सल्लाह दिन पनि तपाईको दृष्टि विशेषज्ञ (Optometrist) सक्षम हुन्छन/
रंगदोष (color Vision Defect) का प्रकारहरु
आँखाको पछिल्लो भागको दृष्टिपर्दा (Retina, रेटिना)मा दुई प्रकारका प्रकाश अवशोषित (Absorption) गर्ने कोशिकाहरू हुन्छन्-रड (Rods) र कोन (Cones)/ रंग देख्न र छुट्याउन कोन कोशिकाहरुमा भएका दृष्टिकणहरु (रंगद्रब्य, Visual pigments) जिम्मेबार हुन्छन्/ यी रंगद्रब्यहरु विभिन्न खालका हुन्छन् जसले विशेष रंगहरु अवशोषित (Absorption) गर्दछन/ रड (Rods) कोशिकाहरू भने रातमा सक्रिय हुन्छन् र रातमा देख्न सक्ने क्षमता राख्दछन/ कोन (Cones) कोशिकाहरू दिनमा मात्र सक्रिय हुन्छन्/ पूर्ण रंग द्रब्यको कमि अथवा निश्चित रङ्ग छुट्याउने रंगद्रब्यको कमि अथवा निश्चित कोन कोशिकहरुको कमिले गर्दा रंगदोष (color Deficiency) अथवा रंग अन्धोपना (Color Blindness) हुने गर्छ/
रंगदोष साधारण रुपमा रातो (Red) र हरियो (green) रंगद्रब्य (Visual Pigment) पदार्थको आंशिक अभावले हुन्छ/ यो अवस्थालाई रातो-हरियो रंगदोष (Red-Green deficiency) भनिन्छ/ यस्तो रंगदोषमा रातो र हरियो रङ्ग छुट्याउन गाह्रो हुन्छ/ यो समस्या करिब १००० पुरुषहरु मध्य ८ पुरुषहरुलाई हुन्छ/करिब एक चौथाईलाई रातो रङ्ग छुट्याउन नसक्ने समस्या हुन्छ/ निलो रंगद्रब्य पदार्थको अभाबमा निलो-पहेलो रंग छुट्याउन समस्या हुन्छ/ यो समस्या महिला र पुरुष दुबैलाई समान रुपले असर गर्छ/  
रंगदोष (विवर्णता, color vision defect) रंग अन्धोपना (color blindness)
रंगदोष अथवा रङ्ग अन्धोपना प्राय जन्मजात हुने गर्छ/ कुनै अवस्थामा आँखाको पर्दा, आँखाको नशा, अथवा मष्तिस्कको रोग अथवा कुनै खास औषधी वा रशायनको सेवन गरेमा पनि यो समस्या हुन सक्छ/ प्राय जन्मजात देखिने रंगदोषमा रातो-हरियो रंग छुट्याउन नसक्ने हुन्छन भने माथि उल्लेखित अरु समस्याहरुमा रोगको अवस्था हेरेर विभिन्न खालको रंगदोष देखिन सक्छ/ यो सम्बन्धि बिस्तृत जानकारीको लागि तपाईको दृष्टि विशेषज्ञ (Optometrist)संग सल्लाह लिन सक्नु हुन्छ/
रंगदोष (विवर्णता, color vision defect)/ रंग अन्धोपना (color blindness) भएको व्यक्तिले कस्तो देख्छ?
कोन केशिका भित्र रंगद्रब्य अभाव हुने मात्र अनुसार कम मात्रामा रंग देख्छन र केहि रंगहरुमा अल्मलिन्छन/ यस्ता व्यक्तिहरुले निलो र बैजनी, रातो र हरियो रंगहरुमा अल्मलिन्छन/ प्राय सबै रंगहरु खैरो रंगसँग अल्मलिन सक्छन/यस्तो भ्रम रातो हरियो रङ्ग छुट्याउन कमि भएका व्यक्तिहरुमा पाइन्छ/ निलो पहेलो रंग छुट्याउन कमि भएका व्यक्तिहरु प्राय हरियो र बैजनी रंगमा अल्मलिन्छन/
के रंगदोषी (विवर्णता, color vision defect) समस्याको उपचार गर्न सकिन्छ?
जन्मजात भएको रंगदोष समस्याको उपचार गर्न सकिदैन/ पछि अरु कारण देखिने समस्यालाई भने कारक तत्वहरुको निदान गरिएमा ठिक भएर जान सक्छ/ रंग छुट्याउन सहज होस् भन्नाको खातिर विशेष किसिमका लेन्सहरु उपलब्ध छन्/ यी लेन्सलाई एक्स-क्रोम (X-chrome) भनिन्छ/ तपाईको रंगदोष सम्बन्धि समस्या र त्यसको उचित सल्लाहको लागि तपाईको दृष्टि विशेषज्ञ(optometrist)संग सम्पर्क गर्नु होला/

key words: X-chrome, optometrist, color vision, defect, blindness, pigment, yellow, green, red, rainbow, rods, cones, deficiency, wiwarnata,